स्ववियु चुनावी चहलपहल बढ्यो

बाग्लुङ | फागुन २१, २०७९

स्ववियु चुनावी चहलपहल बढ्यो

बागलुङ:  सरकारी तथा सामुदायिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको चहलपहल बढेको छ। विभिन्न पार्टीका भ्रातृ विद्यार्थी सङ्घ तथा सङ्गठनहरू स्ववियु चुनावमा होमिएका छन्। 

 

आगामी चैत ५ गतेलाई निर्धारित स्ववियु निर्वाचनलाई लक्षित गरी धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० वटा विद्यार्थी सङ्गठन दर्ता भएका छन्। स्ववियु निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलसँग सम्बन्धित र स्वतन्त्र नामका विद्यार्थी सङ्गठन चुनावी प्रयोजनका लागि दर्ता भएका हुन्। 

 

स्ववियु निर्वाचन संयोजक भक्तिप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल विद्यार्थी सङ्घ (अखिल क्रान्तिकारी) दर्ता भएका छन्। 

 

राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु (छैटौँ), अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, संयुक्त विद्यार्थी समूह, अखिल संयुक्त प्यानल, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु क्रान्तिकारी ‘विप्लव’ दर्ता भएको निर्वाचन संयोजक न्यौपानेले बताउनुभयो। 

 

गत पुस २२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचनको घोषणा गरेपछि धौलागिरि क्याम्पसमा पनि चुनावी सरगर्मी सुरु भएको हो। निर्वाचनको मिति नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी सङ्ठनको चुनावी चहलपहल बढेको छ। 

 

निर्वाचनमा भाग लिएका विद्यार्थी 

 

सङ्गठनहरूले क्याम्पसभित्र सङ्गठन विस्तार तथा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरी आआफ्नो सङ्गठनमा विद्यार्थीलाई आकर्षण गर्ने काम गरेका छन्। 

 

चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका केन्द्रदेखि जिल्ला तहका नेता, कार्यकर्ता, पूर्वस्ववियु सभापतिको क्याम्पसहरूमा उपस्थिति बाक्लो हुन थालेको धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले बताउनुभयो। 

 

यस क्याम्पसमा स्ववियु निर्वाचनमा करिब एक हजार चार सय जना विद्यार्थीले भाग लिनेछन्। शुक्रबार साँझ ५ बजेसम्म स्नातकोत्तर तहको भर्ना बाँकी रहेको हुँदा विद्यार्थी सङ्ख्या यकिन नभएको क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ। 

 

निर्वाचन घोषणले आफूहरू उत्साहित भएको अनेरास्ववियु धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष अनिल शर्माले बताउनुभयो। निर्वाचनका लागि आफ्नो सङ्गठन पूर्ण रूपले तयारी अवस्थामा रहेको अध्यक्ष शर्माले बताउनुभयो। 

 

विद्यार्थी सङ्गठनहरूले निर्वाचनमा हुन सक्ने सम्भावित गठनबन्धनलाई पनि प्राथमिकतामा राखेका छन्। संयुक्त प्यानलको नाममा सङ्गठन दर्ता गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले बताउनुभयो। 

 

धौलागिरि क्याम्पसका विगतका निर्वाचनका विशेष गरी अनेरास्ववियु र नेविसङ्घबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। “विद्यार्थीको हक अधिकार स्थापित गर्न निर्वाचन आवश्यक थियो,” उहाँले भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ।”

 

प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, गलकोट बहुमुखी क्याम्पस, सर्वाेदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ। 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्